भारतीय सिनेमाका सदाबहार अभिनेता देव आनन्दको निधन भएको छ । शनिबार बेलायतको लन्डनमा हृदयघातका कारण उहाँको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शरीरमा रक्तसञ्चारमा समस्या देखिएपछि उहाँ केही हप्ता देखि उपचारका लागि लन्डनमा हुनुहुन्थ्यो ।
८८ वर्षिय देव आनन्दको निधन हुँदा उहाँका छोरा सुनील पनि सँगै भएको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले लेखेको छ । सन् १९४६ मा हिन्दी चलचित्र ‘हम एक हे’बाट भारतीय चलचित्र उद्योगमा पाइला राखेका देवानन्दले तीन दर्जन चलचित्रको निर्माण समेत गर्नुभएको छ ।
सन् १९४७ मा चलचित्र ‘जिद्धि’ मा गरेको उत्कृष्ट अभिनय पछि देव आनन्द भारतीय चलचित्र उद्योगका सदाबहार नायकका रुपमा स्थापित हुनुभयो । चलचित्र ‘जिद्धि’, ‘पेइङ गेस्ट’, ‘जेवल थिप’, ‘सिआइडि’, ‘जोनी मेरा नाम’, ‘अमिर गरिव’, ‘हरे राम हरे कृष्ण’, ‘देश परदेश’ लगायतका एक सय भन्दा धेरै चलचित्रमा उहाँको दमदार अभिनय छ । सन् १९७८ मा रिलिज भएको चलचित्र ‘देश परदेश’ उहाँ आफैले लेख्नुभएको थियो ।
सन् १९७० मा चलचित्र प्रेम पुजारीबाट निर्देशनमा हाम फालेका देव आनन्दले झण्डै दुई दर्जन चलचित्रको निर्देशन गर्नुभएको छ ।
उहाँको योगदानको कदर गर्दै भारत सरकारले उहाँलाई सन् २००१ मा पद्म भूषण र सन् २००२ मा दादा साहेब पाल्के अवार्ड प्रदान गरेको थियो । उहाँलाई यि बाहेका अन्य दर्जनौँ राष्ट्रिय तथा अन्र्राष्ट्रिय अवार्डले समेत सम्मानित गरिएको छ ।
नेपालसँग आनन्दको आत्मियता
आनन्दले अभिनय गरेका ‘हरे रामा हरे कृष्णा’, ‘जोनी मेरा नाम’ र ‘इश्क ईश्क’ चलचित्रको शुटिङ्ग नेपालमा गरिएको थियो । नेपालमा ७० को दशकमा चलेको हिप्पी संस्कृतिको सेरोफेरोमा रहेर निर्माण गरिएको चलचित्र ‘हरे रामा हरे कृष्णा’ले लागूऔषध प्रयोग दुरुत्साहन गर्ने दिशामा सन्देश दिने प्रयास गरेको थियो भने नेपाली संस्कृति र रहनसहनलाई बाहिरी विश्वमा चिनाउन मद्धत गरेको थियो ।
नेपालमा ६ वर्ष अघि आयोजना गरिएको चलचित्र महोत्सवका अवसर पारेर अभिनेता देब आनन्दलाई राष्ट्रिय पुरस्कार समेत प्रदान गरिएको थियो । नेपालसंग आत्मिय सम्बन्ध रहेको बताउने आनन्दले आफ्नो जीवनी पुस्तक ‘रोमान्सिङ्ग विथ लाईफ’को नेपालमै बिमोचन गर्नुभएको थियो !
source-Ujyalo 90
No comments:
Post a Comment